विराटनगर-  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नीजि सचिवालयको प्रेस तथा आइटी विभागमा  २३ वर्षीय अमित खनाललाई नियुक्त गरेका छन् ।

नीजि सचिवालयमा युवा जोसको आगमनले  खुसी लागेको भट्टराईले बताएका छन्। उनले नाति पुस्तासँगको सहकार्यले वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने भनेका छन् । अमित मेकाट्रोनिक्स इन्जिनियर तथा डिजिटल क्रियटर हुन् । 'सबैको सद्भाव र सहयोगका लागि हार्दिक आग्रह गर्दछु,' भट्टराईले भने ।

भट्टराई नेतृत्वको नयाँ शक्तीले फागुन १ मा ११ सदस्यीय पदाधिकारीसहित ९० केन्द्रीय सदस्य (नौ जना मनोनीत सहित) निर्वाचनमार्फत चयन गर्‍यो। यसमा अमित पनि समेटिए।

रुपन्देहीको बुटवलमा जन्मेका अमित भारतको महाराष्ट्र कोहलपुरमा इन्जिनियरिङमा अध्ययनरत छन्। उनी नयाँ शक्तिको महाधिवेशनकै लागि काठमाडौं आएका हुन् ।

१८ वर्षको हुँदादेखि विद्यार्थी राजनीतिमा जोडिएका अमितले नयाँ शक्तिको आइटी विभागमा पहिले पनि  काम गरिसकेका छन्। 

भौतिक सङ्गठन आधारभूत कुरा भए पनि डिजिटल रूपमा पनि अब पार्टीहरूले विचार तथा कार्यक्रमहरू समप्रेषण गर्नुपर्ने बुझाइ अमितको छ।  उनले यस दिशामा नयाँ शक्तिलाई सबल बनाउने बताएका छन् ।

अमित पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईलाई सरल भाषामा भाषण गर्न सुझाव दिंदै आएका छन् ‌। उहाँमा अपार ज्ञान भए पनि पार्टी तथा बाहिर रहेका अघिल्लो पुस्ताका मान्छेलाई अध्यक्षको भाषण बुझ्न गाह्रो पर्ने उनको ठम्याइ छ । 'उहाँले बोलेका कुरा गहन र जनहितमा हुन्छन् तर कठिन शब्दावलीले बहुसंख्यक लक्षित वर्ग सम्म सन्देश पुग्दैन,'खनालले भने,'मजस्तोले मात्र बुझेर भएन, ती कुरा आममान्छेको बोलीमा व्यक्त हुनुपर्छ।