विराटनगर– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको लिस्तिस्थित भैरवकुण्ड केन्द्रविन्दु बनाएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले मानवीय र ठूलो भौतिक क्षति भएको छैन । भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दिछेन शेर्पाले अहिलेसम्म प्राप्त जानकारी अनुसार मानवीय र ठूलो भौतिक क्षति नभएको बताएकी हुन् । 

उनले सामान्यरुपमा पूराना केही घरहरु चर्केको जानकारी प्राप्त भएको छ । भूकम्प आएपछि सर्वसाधारण घरबाट बाहिर भागेका थिए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला कारागारमा आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको बताए ।

उनले कोदारीस्थित प्रहरी चौकीको जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको बताए । भोटेकोशी गाउँपालिका– ३  स्थित दुगुनागढीमा पहिरो खसेको अहिलेसम्ममा प्राप्त जानकारीमा रहेको प्रजिअ थापाले बताए । 

भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले सामान्य क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन् । मानवीय क्षति भएको सूचना प्राप्त नभएको उनले बताए । सिन्धुपाल्चोक प्रशासन कार्यालयका अनुसार कोदारीमा रहेको एउटा प्रहरी भवन चर्केको, वरिपरिका केही घर, कम्पाउण्डका पर्खाल भत्केको छ । 
नेपालीका अनुसार जिल्ला कारागार कार्यालयमा दुई बन्दी आँतिएर दोस्रो तल्लाबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका छन् । सुरक्षा संयन्त्रहरूलाई विवरण संकलन गर्न भनिएको उनले बताए ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमा सोना शेर्पाले वर्षाको समयमा पहिरो गइरहने भूभागमा सुक्खा पहिरो खसेको बताएका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो । उनले भने,‘बस्ती निकै तल रहेकाले पहिरोले क्षति पुर्याएको छैन ।’ 

उनको अनुसार कोसी गाउँपालिकामा केही पूराना घर चर्किएका छन् । छोटो समय हल्लाएकाले क्षति हुन नपाएको उनी बताउँछन् । भूकम्पका कारण रातको समयमा निदाइरहेका मानिसहरू आत्तिँदै खुला ठाउँमा निस्किएका थिए। बीबीसीको अनुसार भारतको विहार र पश्चिम बंगालको उत्तरी क्षेत्र सम्म यो भूकम्पको झट्का पुगेको थियो ।