विराटनगर– दाङको तुलसीपुरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी देखि महसुल नतिर्ने ८ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । 

लाइन काटिएका ग्राहकबाट ४२ लाख ४२ हजार १ सय ९९ रुपैयाँ उठाउन बाँकी छ । यीबाहेक १ हजार ७ सय ३३ ग्राहकबाट तीन करोड १३ लाख ९२ हजार ३ सय ३६ रुपैयाँ बक्यौता रहेको गोशलीले जानकारी दिए । यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ ।  माघसम्म ८ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । यसबाट सात करोड ५९ लाख ५ सय ३१ रुपैयाँ राजश्व उठेको छ । चालु आवको हाल सम्म १३ लाख ९ हजार ४ सय ९८ रुपैयाँ अग्रिम भुक्तानी भएको छ । अनलाइनबाट विद्युत् महशुल बुझाउने व्यवस्था भए पनि हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।