विराटनगर– कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरूका लागि ८ करोड ६० लाख रुपैयाँ उपचार खर्च बाँड्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गरी बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भिन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने बताए ।
बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको छ। प्रदेशमा आउने प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालयमा कामकाज गर्ने गरी खटाउने र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै कामकाजमा खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न सहमति दिने समेत निर्णय गरेको छ। त्यस्तै कोशी पर्यटन वर्षको लागि विनियोजित बजेटको स्रोतगत बाँडफाड गर्ने निर्णय समेत गरेको छ।