विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा सञ्चालित सातदिने "भत्केको संरचनामा गरिने खोज तथा उद्धार अनुशिक्षण तालिम" को पहिलो समूहको समापन भएको छ। फागुन २५ गतेदेखि सञ्चालन भएको उक्त तालिम चैत्र ४ मा कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्धारसम्बन्धी तालिम प्रदान गरी उद्दार कार्यलाई थप प्रभावकारी बनाउन पहल गरिएको बताए । मानव जीवनमा आउने कठोर विपत्तिको समयमा उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले सीमित स्रोतसाधन तथा स्थानीय औजारहरूको प्रयोग गर्दै प्रभावकारी रूपमा खोज तथा उद्धार कार्यमा खटिनुपर्ने आवश्यकतामा उनले जोड दिए । 

त्यसैगरी, उनले  तालिमबाट सिकिएका सिप, ज्ञान र दक्षताको उच्चतम प्रयोग गरी कार्यक्षेत्रमा आउने समस्या तथा चुनौतीहरू सामना गर्न र उद्धार कार्यमा खटिएर नेपाल प्रहरीको गौरवलाई उच्च स्थानमा राख्न प्रशिक्षार्थीहरूलाई प्रेरित गरेका छन् ।

समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा प्रहरी उपरीक्षक दीपक पोखरेलसहित सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति  थियो । उक्त तालिममा कोशी प्रदेशअन्तर्गत रहेका विभिन्न कार्यालयका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता थियो।