काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् ।
प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो भनाइले पार्न गएको नकारात्मक असरप्रति क्षमायाचना गरेका हुन् । उनले चैत ३ को प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय वैधानिक बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए, जसले विभिन्न वर्गमा विवाद सिर्जना गरेको थियो।
बुधबारको बैठकमा घिमिरेले उक्त अभिव्यक्ति आफ्नो व्यक्तिगत विचार मात्र भएको र नेपाली कांग्रेस तथा संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट गरे। ‘ चैत ३ को विशेष समयमा मैले व्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन। मेरो विचारले संसद् सदस्यहरू तथा आम जनसमुदायमा नकारात्मक प्रभाव परेको भए, म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु,’ घिमिरेले भने। उनको अभिव्यक्तिपछि विभिन्न राजनीतिक दलका नेताहरू तथा सामाजिक अभियन्ताहरूले आलोचना गरेका थिए।