भक्तपुर — नेपाली पत्रकारिता र राजनीतिमा उल्लेखनीय योगदान दिएका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ । बिहीबार राति भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित निवासमा हृदयाघात भएपछि उनलाई काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो, जहाँ आज बिहान उपचारकै क्रममा उनको निधन भयो ।
बस्नेत नेपाली पत्रकारितामा एक प्रतिष्ठित व्यक्तित्व थिए । उनले ’पुनर्जागरण’ साप्ताहिकको स्थापना गरी सम्पादकको भूमिका निर्वाह गरेका थिए । साथै उनी राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत थिए । पत्रकारितामा उनको योगदानलाई सम्मान गर्दै नेपाल पत्रकार महासँघ, भक्तपुर शाखाले २०८१ मा उनलाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको थियो ।
राजनीतिक क्षेत्रमा पनि बस्नेतको सक्रियता उल्लेखनीय थियो । विस २०१७ देखि राजनीतिमा संलग्न भएका उनले प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय सहभागिता जनाए । यस क्रममा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । तर २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि उनी जेलमुक्त भएका थिए ।
नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतका अनुसार उनी गणेशमान सिंहसँग निकट रहेर लामो समय राजनीति गरेका थिए । हाल गणेशमान सिंह स्मृति बाटिकाका अध्यक्ष थिए । उनको निधनले नेपाली पत्रकारिता र राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।