इनरुवा – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रविधिको दुरुपयोग गरी संगठित रूपमै चिट चोराउने प्रयास भएको पाइएको छ। सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा ह्वाट्सएप ग्रुप बनाएर प्रश्नपत्र बाहिर पठाउने तथा उत्तर उपलब्ध गराउने कार्यमा संलग्न दुई शिक्षकलाई पक्राउ गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार परीक्षा केन्द्र अनुगमनका क्रममा शंका लागेपछि परीक्षा गार्डको मोबाइल जाँच गर्दा उनीहरूले ह्वाट्सएपमार्फत चिट चोराउने गतिविधिमा संलग्न भएको पुष्टि भएको हो । पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई तत्काल परीक्षा गार्डबाट निष्कासन गरिएको छ ।

अनुगमनका क्रममा थप पक्राउ

अनुगमन टोलीले इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट पनि तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमा इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव, र दिनेशप्रसाद यादव छन् । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

अनुशासन उल्लंघन गर्नेहरूलाई कडा कारबाही

परीक्षा केन्द्रमा मोबाइल प्रयोग गरेर चिट चोर्ने घटनालाई रोक्न प्रशासनले कडाइ गरेको छ । अघिल्लो दिन मात्र दुहवीमा विद्यार्थीहरूसँग प्रति व्यक्ति १० हजार रुपैयाँ असुली गर्ने दुई गार्डलाई पनि निष्कासन गरिएको थियो ।
यसैबीच सुनसरीका प्रजिअ मिश्र नेतृत्वको टोलीले परीक्षा केन्द्रहरूमा अनधिकृत गतिविधि गर्ने निरीक्षक तथा विषय शिक्षकलाई निष्कासन गर्दै कडा निगरानी बढाएको छ । उनले परीक्षा मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन केन्द्राध्यक्षहरूलाई विशेष सचेतना अपनाउन निर्देशन दिएका छन ।

निजी विद्यालय सञ्चालकको संलग्नता उजागर

सुरुवाती अनुसन्धान अनुसार निजी विद्यालय सञ्चालकहरूले आफ्ना विद्यालयका नतिजा राम्रो देखाउन आर्थिक चलखेल गर्दै निरीक्षकहरूलाई प्रभावित पार्ने गरेको तथ्य बाहिर आएको छ । परीक्षाको शुद्धता सुनिश्चित गर्न यसप्रकारको अनियमिततामा संलग्न जो कोहीलाई कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । सुनसरीका ५० परीक्षा केन्द्रहरूमा कूल १३ हजार ५ सय ७३ विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए । परीक्षा प्रणालीलाई थप मर्यादित बनाउन प्रशासनले निगरानीलाई थप सशक्त बनाउने प्रतिवद्धता जनाएको छ ।