काठमाडौँ– कतार सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा सोमबार १८ जना नेपाली कैदीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ । उक्त निर्णयलाई मन्त्रालयले मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमको रूपमा लिएको छ ।

यसले नेपाल–कतार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ । नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत आममाफीका लागि गरेको अनुरोधलाई कतार सरकारले स्वीकार गर्दै नेपाली नागरिकहरूलाई आममाफी दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।