विराटनगर– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा निःसन्तान दम्पत्तिहरूका लागि उपचार केन्द्र सञ्चालन गर्ने बताउका छन् । कोशी अस्पतालमा निःसन्तान क्लिनिक र थालसेमिया सेवाको सोमबार उद्घाटन गरेपछि मन्त्री पौडेलले सातै प्रदेशमा निःसन्तान उपचार केन्द्र सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

मन्त्री पौडेलले कोशी प्रदेशबाट सुरुवात गरिएको यो सेवा अन्य प्रदेशहरूमा पनि विस्तार गरिने बताए । ‘बाँझोपनको उपचार अत्यन्त महँगो भएकाले सरकारले सरकारी अस्पतालहरूमा यो सेवा सुरु गरेको हो,’ उनले भने, ‘सातै प्रदेशका एक–एक वटा  अस्पतालमा निःसन्तान दम्पत्तिको उपचारको लागि सुरु गरिएको यो सेवाको शुभारम्भ कोशी अस्पतालबाट भएको छ ।’

स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने योजनाअन्तर्गत मन्त्री पौडेलले प्राथमिक उपचार केन्द्रहरूको विकास गर्नुपर्ने आवश्यकतामा जोड दिएका छने । ‘रेफरल प्रणालीलाई व्यवस्थित गरेर कोशी अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने केन्द्रको रूपमा अगाडि बढाउने तयारीमा छौं,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको समस्या समाधान गर्न सरकारले आगामी एक वर्षमा दुई हजार पाँच सय स्वास्थ्यकर्मी थप गर्ने र पाँच वर्षभित्र १२ हजार स्वास्थ्यकर्मी थप गर्ने योजना छ ।’ यी कामको लागि सैद्धान्तिक स्वीकृती प्राप्त भइसकेको र प्रक्रिया अगाडि बढिरहेको पौडेलले बताए ।  । 

अहिले लोक सेवा आयोगले पाँच सय डाक्टर र सात सय नर्सका लागि विज्ञापन गर्ने तयारी गरिरहेको मन्त्री पौडेलले जानकारी दिए । उनले दरबन्दी भएको ठाउँमा चिकित्सकहरू नजाने समस्या समाधान गर्न लोकसेवा आयोगले विज्ञापन आह्वान गर्दा अस्पतालको नाम तोकेरै दरखास्त खोल्नुपर्ने बताए ।