विराटनगर — ३४ वर्षपछि आफ्नै घरमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आयोजना भएको हेरेर गर्व गरेका ८५ वर्षीय बलबहादुर सुनुवार अब यो संसारमा रहेनन् । उनी शुक्रबार सधैंका लागि अस्ताएका छन् ।

जननेता मदन भण्डारीको नेतृत्वमा सुरु भएको नेकपा मालेको चौंथो महाधिवेशन २०४६ सालमा भएको ऐतिहासिक स्थल, सिराहाको सर्रेआम्बासीस्थित सुनुवारकै घरमा २०८० को भदौ ९ मा पुनः एमालेको बैठक बसेको थियो । सुनुवारले त्यो दिन भावुक हुँदै भनेका थिए, ‘३४ वर्षअघिका सबै नेतासँग भेट नहोला, जतिसँग हुन्छ, त्यसैलाई अवसर ठान्छु ।’ कम देख्ने, कम सुन्ने भए पनि नेताहरूको आगमनले उनी निकै उत्साहित देखिएका थिए ।

उनको घरमा २०४६ सालको भदौ ९ देखि १४ सम्म चलेको महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गर्दै ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्ने निर्णय गरेको थियो । त्यही ठाउँबाट भण्डारीको राजनीतिक नेतृत्वको औपचारिक उदय भएको थियो ।

सुनुवारले २०८० सालको भदौ ९ मा एमाले सचिवालय बैठकका क्रममा गाउँको विकासको लागि नेताहरूबाट आश्वासन पाएका थिए । तर ती सपना पुरा भएको हेर्नुअघि नै उनको निधन भयो । गाउँलेहरू, नेकपा एमालेका नेता र मदन भण्डारी फाउण्डेसनका सदस्यहरू शोकमा छन् ।

उनको पार्थिव शरीरमा नेकपा एमाले उदयपुर अध्यक्ष तथा महाधिवेशनस्थल संरक्षण समितिका उपाध्यक्ष भागवत राउतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । अन्त्येष्टि आफ्नै परम्पराअनुसार सोही ठाउँमा गरिएको थियो।

इतिहास बोकेको ठाउँमा विकासको योजना

पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि १४ किलोमिटर उत्तर वन क्षेत्रमा पर्ने सर्रेआम्बासी गाउँ एमालेका लागि ऐतिहासिक महत्व बोकेको स्थान हो । यहीँबाट मदन भण्डारीको नेतृत्व यात्रा सुरु भएको थियो।

यसैले फाउण्डेसनले सोही ठाउँमा चौंथो महाधिवेशनस्थल संरक्षण समिति गठन गर्दै सचिवालय बैठक आयोजना गरेको थियो । समितिका सहसंयोजक भागवत राउत भन्छन्, ‘इतिहासलाई जीवन्त राख्न र वाम आन्दोलनको गौरव बचाइराख्न यो थलोको संरक्षणमा हामी जुटेका छौं ।’

अब उक्त ऐतिहासिक थलोमा मदन भण्डारी पार्क निर्माण, पुस्तकालय स्थापनाजस्ता योजनाहरू अघि सारिएको छ । एमालेले यस स्थानलाई राजनीतिक पर्यटनको केन्द्र बनाउन चाहेको संकेत दिएको छ । ३४ वर्षअघि भूमिगत कम्युनिस्ट आन्दोलनलाई घर खोलेका बलबहादुर सुनुवारको योगदान एमालेका लागि अमूल्य थियो । तर उनले चाहेजस्तै विकास देख्न नपाउँदै संसारबाट बिदा भए । अहिले एमाले र स्थानीयले त्यो ऐतिहासिक सम्झनालाई संरक्षित गर्दै राजनीतिक पर्यटनको थलोमा रूपान्तरण गर्ने संकल्प लिएका छन् ।