सान्तो डोमिङ्गो (डोमिनिकन गणराज्य) – एक नाइट क्लबको छाना भत्किँदा कम्तीमा १ सय १३ जनाको मृत्यु र १ सय ५० भन्दा बढी घाइते भएका छन् । बीबीसीका अनुसार यो भयानक दुर्घटना मंगलबार बिहान डोमिनिकन गायक रुवी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला जेट सेट नाइट क्लबमा भएको हो ।
मृतकहरूमा सन् २०१३ मा सन्यास लिएका चर्चित बेसबल खेलाडी क्टाभियो डोटेल सहित प्रसिद्ध गायक रुवी पेरेज पनि छन् । पेरेजका गीतहरू ‘एल अफ्रिकानो’ र ‘लास आविस्पास’ अत्यधिक लोकप्रिय छन् ।
घटनाको समय क्लब भरिभराउ थियो । रातको १ बजेतिर छानाको एउटा ठूलो भाग भत्किएको थियो । भग्नावशेषमा अझै धेरै मानिसहरू पुरिएका हुनसक्ने आशंका गरिएको छ । ४ सयभन्दा बढी उद्दारकर्मीहरू घटनास्थलमा खोजीकार्यमा जुटेका छन् । जीवितहरूलाई उद्दार गर्न सकिने विश्वासमा प्रयास जारी राखेका छन् ।
उक्त कन्सर्टमा खेलाडी, राजनीतिज्ञ र अन्य उच्च पदस्थ व्यक्तिहरू पनि सहभागी थिए । मृतकहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । डोमिनिकन गणराज्यका राष्ट्रपति लुइस रोडोल्फो एबिनाडेरले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सरकार र राहतकर्मीहरूको सहयोगमा घटनास्थलमा प्राथमिक उपचार र उद्दार कार्यलाई तीव्रता दिएका छन् ।