विराटनगर– काठमाडौँको बालाजुको औद्योगिक क्षेत्रको एक प्लास्टिक उद्योगमा शनिबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागी हुने कारण खुलेको छैन ।

आगलागीको तीव्रता अत्यधिक भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको विशेष दमकलसमेत घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगो नियन्त्रणका लागि सबै सुरक्षा संयन्त्र र  जुद्ध बारुण यन्त्रका तीनटा दमकल जुटेको बताए ।

प्लास्टिक उद्योगमा केमिकलयुक्त पदार्थहरू बढी भएका कारण आगो नियन्त्रणमा कठिनाइ भएको थियो । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यसअघि पनि बालाजु औद्योगिक क्षेत्रमा आगलागीका घटनाहरू भएका छन् । चार वर्ष अघि त्यहाँ नेबिको बिस्कुट उद्योगमा आगलागी भएको थियो । भित्र घ्यु, मैदा, चिनी, प्लास्टिकजस्ता प्रज्वलनशील सामग्रीको प्रयोग हुने भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको थियो ।