काठमाडौँ — शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनु अघि नै सरकारी आवास छाडेकी छन् । प्रायः मन्त्रीहरूले राजीनामा दिएको लामो समयपछि मात्र सरकारी सुविधा त्याग्ने परिपाटी रहेको अवस्थामा मन्त्री भट्टराईले देखाएको आचरण विशिष्ट उदाहरणका रूपमा उल्लेख गरिएको छ।
सचिवालयका अनुसार भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेट गरी राजीनामा पत्र बुझाएकी हुन् । यसको केही घण्टाअघि उनले शिक्षा मन्त्रालयले उपलब्ध गराएको सरकारी आवास छाडेकी थिइन् । उनका सचिवालय शाखा अधिकृत प्रविनकुमार भट्टराईले दिउँसो सरकारी निवास छाडिसकेपछि मात्रै बालुवाटार पुगेको पुष्टि गरेका छन् ।
भट्टराईको सचिवालयका सदस्य अशेष पोखरेलका अनुसार विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्री ओलीसँग सहमति नजुटेपछि उनी राजीनामामा उत्रिएकी हुन् । आजै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो जहाँ शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय शिक्षा विधेयकसम्बन्धी सातबुँदे प्रस्ताव पेस गरिने भनिएको थियो । तर मन्त्री भट्टराई बैठकमा उपस्थित भइनन् ।
शिक्षा क्षेत्र सुधारको माग गर्दै देशभरका शिक्षकहरू झन्डै तीन सातादेखि आन्दोलनमा छन् । शिक्षकका मागबारे प्रधानमन्त्री ओलीले फरक मत राख्दै आएका कारण मन्त्री भट्टराईले नैतिक जिम्मेवारीका साथ पदबाट अलग हुने निर्णय लिएको बुझिएको छ ।
सरकारी पदबाट अलग हुने निर्णयका साथै सुविधा त्याग गर्न आलटाल गर्ने प्रवृत्ति मौलाउँदै गइरहेका बेला मन्त्री भट्टराईले देखाएको व्यक्तिगत अनुशासन र व्यवहारले सरकार तथा सार्वजनिक जीवनमा शुद्धता कायम गर्न चाहनेहरूका लागि सन्देश दिन्छ ।