विराटनगर — सरकार र नेपाल शिक्षक महासंघबीच शनिबार बिहान शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन बनेको छ । शिक्षक आन्दोलनको विषयमा समाधान खोज्ने उद्देश्यले भएको छलफलमा सहमति जुट्न नसकेपछि वार्ता अर्को चरणमा प्रवेश गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न वार्तामा सरकारतर्फ शिक्षा मन्त्री रघुजी पन्त र सचिव दीपक काफ्ले सहभागी थिए भने महासंघतर्फ अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी थिए । बैठकपछि अध्यक्ष सुवेदीले पुनः छलफल गर्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘हामी वार्ता र आन्दोलन दुवैलाई सँगसँगै लैजाने रणनीतिमा छौं ।’
यता विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले पनि मन्त्रालयमा छलफलमा सहभागी भएको बताए । ‘सरकारले वार्तामा बोलाएकाले आएका हौं तर विगतका सम्झौताहरू कार्यान्वयन नभएकाले नयाँ सम्झौताको ग्यारेन्टी छैन,’ उनले भने । तिवारीले संसद्मा विद्यालय शिक्षा विधेयक आएपछि मात्र भावी रणनीति तय गरिने स्पष्ट पारे ।
सरकारले वार्ताका लागि आह्वान गरेपछि आन्दोलनरत शिक्षकहरू सिंहदरबार पुगेका थिए । यसअघि शुक्रबार संसद् भवन परिसरमा मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन र समाधान खोज्न आग्रह गरेका थिए । ‘सरकार संवादमार्फत समस्या समाधान गर्न प्रतिबद्ध छ,’ मन्त्री पन्तले भनेका थिए, ‘शिक्षक साथीहरूलाई पनि वार्तामा लचिलो भएर आउन आग्रह गर्छु ।’ गत चैत २० देखि शिक्षकहरू विद्यालय शिक्षा ऐनको मागसहित काठमाडौँमा आन्दोलनरत छन् ।