विराटनगर–  — इरानको एक प्रमुख बन्दरगाहमा शनिबार बिहान भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ। दक्षिणी इरानस्थित शाहिद रजाई बन्दरगाहमा भएको उक्त विस्फोटमा ८ सय  जना घाइते भएका छन् भने ६ जना अझै बेपत्ता रहेका छन्।

बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोटको तीव्रताले वरपरका भवनका झ्याल र छाना उडाएको र गाडीहरू समेत नष्ट भएको छ। स्थानीय बासिन्दाले विस्फोटको झड्का ५० किलोमिटर टाढासम्म महसुस गरिएको बताएका छन्।

घटनाको कारणबारे आधिकारिक विवरण नआएको भए पनि प्रारम्भिक अनुसन्धानका आधारमा बन्दरगाहमा राखिएको विस्फोटक सामग्रीमा आगलागी भएर ठूलो विष्फोट भएको अनुमान गरिएको छ। राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको अधिकारीहरूले जनाएका छन्।

शाहिद रजाई बन्दरगाह इरानको सबैभन्दा ठूलो र मुख्य वाणिज्यिक बन्दरगाहमध्ये एक हो, जहाँ ठूलो मात्रामा आयात–निर्यात गतिविधि सञ्चालन हुँदै आएको छ।