धनगढी- कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाइ शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी थिइन्।

उनलाई भारतको पलिया क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले पुष्टि गरे। दमाइलाई मानव बेचबिखन मुद्दामा पक्राउ गरी म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेका बेला उनी फरार भएकी थिइन्।

थुनुवा हतकडीसहित फरार भएपछि जिम्मेवारीमा रहेको प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले जानकारी दिए। पक्राउ परेकी दमाइलाई नेपाल ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।