विराटनगर– कास्की र गोरखामा आइतबार चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेका मजदुरहरूलाई चट्याङ लाग्दा संखुवासभाका सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र १८ वर्षीय महेश राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

समुद्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको त्रिवेणी ताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जना मजदुरमध्ये बाँकी सात जना सकुशल रहेको जनाइएको छ । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली आइतबार नै घटनास्थलतर्फ गएको थियो ।

टोलीले घान्द्रुकमा बास बसेको र त्यहाँबाट घटनास्थलसम्म पैदल पाँच घण्टाभन्दा बढी लाग्ने भएकाले सोमबार दिउँसोभित्र शव ल्याउने प्रक्रिया सुरु हुने प्रहरीले बतायो । नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा त्रिवेणी ताल पदमार्ग निर्माण  भइरहेको गाउँपालिकाले जनाएको छ।

यसैगरी गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङमा चट्याङ लागेर ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ । आइतबार साँझ करिब साढे ७ बजे घरमै बसिरहेका बेला खनाललाई चट्याङ लागेको थियो । घाइते खनाललाई उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

त्यसैगरी आइतबार साँझ नै पालुङटार नगरपालिका–७, च्याङलीमा चट्याङ लागेर ५० वर्षीया सुकमाया आले र १८ वर्षीया विपना आले घाइते भएका छन् । दुवैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।