काठमाडौँ — नेपाल–भारत सम्बन्धमा चिसोपन देखिएको बेला नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारतमा राजनीतिक दौडधुप बढेको छ।

प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटन गर्न शनिबार भारत पुगेका भट्टराईले त्यहाँ उच्चस्तरीय भेटघाटलाई तीव्रता दिएका छन्। उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका पूर्वअध्यक्ष डा. मुरली मनोहर जोशी, भारतीय कांग्रेसका वरिष्ठ नेता तथा सांसद जयराम रमेश, जनता दल (यूनाइटेड) का नेता केसी त्यागी र बहुजन समाज पार्टीका सुधीन्द्र भदौरियासँग छुट्टाछुट्टै भेट गरेका छन्।

यही क्रममा भट्टराईले नेपालका लागि रहेका चारजना पूर्वभारतीय राजदूत—रञ्जित रे, मन्जिव सिंह पुरी, श्यामशरण र राकेश सुदसँग पनि एकैसाथ भेटघाट गरेका छन्। उनका अनुसार हरेक भेटमा नेपाल–भारत सम्बन्धलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा गहिरो छलफल भएको थियो।

भट्टराईका सचिवालयले जारी गरेको जानकारी अनुसार भेटमा दुई देशबीच चिसिएको सम्बन्धलाई सुधार्न प्रधानमन्त्रीस्तरमा प्रत्यक्ष संवाद आवश्यक रहेको र त्यसका लागि पहल लिनुपर्नेमा सहमति भएको छ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विषयमा समेत सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ।

भट्टराईले हालै जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको भत्र्सना गर्दै पीडितप्रति दुःख व्यक्त गरेका छन्। उनले नेपालको तर्फबाट भारतसँग ऐक्यबद्धता पनि प्रकट गरेका छन्।

त्यस्तै ’द हिन्दु’सँगको कुराकानीमा भट्टराईले नेपालको वर्तमान सरकारप्रति जनस्तरमा गहिरिँदो असन्तुष्टि रहेको बताएका छन्। उनले नेपालमा भइरहेको राजावादी आन्दोलन प्रधानमन्त्री ओलीविरुद्धको असन्तुष्टि रहेको स्पष्ट पारेका छन्।

भट्टराईका अनुसार संसद्मा कुनै दलको स्पष्ट बहुमत नभएकाले तत्काल सरकार परिवर्तनको सम्भावना कमजोर रहेको छ। तर सरकार परिवर्तन भए पनि गुणात्मक सुधार नआउने उनले बताएका छन्। साथै, सत्ता र विपक्षी दुवै मोर्चाप्रति जनताको विश्वास कमजोर भएकाले नयाँ राजनीतिक मोर्चाको आवश्यकता महसुस भइरहेको र त्यसको तयारी भइरहेको उनले खुलासा गरेका छन्।