काठमाडौँ — सुन खरिदका लागि दिइने सिफारिसमा अब व्यवसायीसँग शुल्क लिन नपाइने भएको छ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार नयाँ निर्देशन जारी गर्दै सुन व्यवसायसम्बन्धी संघ/महासंघले सिफारिस दस्तुर लिन नपाउने स्पष्ट पारेको हो।
यसअघि संघ/महासंघहरूले वाणिज्य बैंकमार्फत सुन खरिद गर्न चाहने व्यवसायीहरूसँग प्रतिकिलो ६ हजार रुपैयाँसम्म शुल्क लिँदै आएको गुनासो राष्ट्र बैंकमा पुगेपछि यो व्यवस्था ल्याइएको हो।
राष्ट्र बैंकको सूचनामा भनिएको छ, 'सुन व्यवसाय सम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सोही अनुसार गर्नु/गराउनु हुन सूचना जारी गरिएको छ।'
नेपालमा वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउँछन्। व्यवसायीहरूले बैंकमार्फत सुन खरिद गर्न संघ वा महासंघको सिफारिस आवश्यक पर्छ। अबदेखि यो सिफारिस निशुल्क रूपमा दिनुपर्नेछ।