काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरीको पक्राउ प्रकरणमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन्।प्रतिनिधिसभाको बैठकमा सोमबार बोल्दै उनले मंगलबार (वैशाख २३ ) सम्म संसद्मा सन्तोषजनक जवाफ नआए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।

‘भोलिकै दिनमा प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यूले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौं,’उनले अल्टिमेटम दिंदै भने ।उक्त पार्टीबाट सरकारमा सहभागी अरुणकुमार चौधरी हाल पर्यटन राज्यमन्त्री छन्।

वैशाख १७ मा सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत अधिकृत महिमानसिंह विष्टको पत्रका आधारमा प्रहरीले पूर्वसांसद रेशम चौधरीलाई काठमाडौँको कमलादीबाट पक्राउ गरेको थियो। तर सांसद लालवीरले उक्त पक्राउ अपहरण शैलीमा गरिएको आरोप लगाएका छन्।

पक्राउपछिको केही घण्टामै पत्र फर्जी ठहरिएपछि रेशमलाई रिहा गरिएको थियो। जनमत पार्टी र नागरिक उन्मुक्तिबीच एकता घोषणा गर्ने तयारी भइरहेको समयमा भएको उक्त घटनाले एकता प्रक्रिया नै भाँडिएको थियो।