विराटनगर– एक समय थियो—गरिब र मजदुरका छोराछोरीमात्र पढ्ने भनेर हेला गरिने सामुदायिक विद्यालयहरू अब विराटनगरमा परिवर्तनको प्रतीक बनेका छन्। शिक्षाको उज्यालो उज्यालो बाटोमा कदम राख्दै आदर्श मावि र पोखरिया मावि जस्ता सरकारी विद्यालयहरू अहिले अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएका छन्। तथ्यांक नै यस परिवर्तनको प्रमाण हुन्।

विराटनगरको आदर्श माध्यमिक विद्यालयमा कक्षा ४ देखि ९ सम्मका २४० सिटका लागि आयोजित प्रवेश परीक्षामा १ हजार ७ सय ६४ विद्यार्थी सहभागी भए।कक्षा ८ र ९ मा त करिब ४ सयभन्दा बढी विद्यार्थी प्रतिस्पर्धामा उत्रिए—यो आँकडाले स्पष्ट देखाउँछ कि सामुदायिक शिक्षा अब केवल विकल्प होइन, रोजाइ बनिसकेको छ।

त्यस्तै पोखरिया माविमा कक्षा १ देखि ९ सम्मका विभिन्न तहमा २ हजार ४ सय ३० विद्यार्थी प्रवेश परीक्षामा सहभागी भए, जसमा ८१३ जना मात्र भर्ना हुने मौका पाए। नयाँ भवन र सुधारिएको पूर्वाधारले अझै धेरै विद्यार्थीलाई समेट्न सम्भव भएको उक्त विद्यालयका शिक्षक महेशकुमार गौतम बताउँछन् ।

यी विद्यालयहरूमा अङ्ग्रेजी–नेपाली माध्यममा पढाइ, प्राविधिक धारमा डिप्लोमा कक्षाहरू, अपाङ्गता भएका बालबालिकाका लागि समावेशी सिकाइ वातावरण र सामुदायिक भावना बोकेको व्यवस्थापन—यी सबै समन्वयले सरकारी विद्यालयप्रतिको दृष्टिकोणलाई परिवर्तन गरिदिएको छ।

एक समयको ‘वैकल्पिक विकल्प’ आज ‘आदर्श’ बन्न सकेको हो भने त्यो शिक्षामार्फत सामाजिक परिवर्तन सम्भव छ भन्ने स्पष्ट प्रमाण हो।‘हामीसँग सबैलाई भर्ना गर्ने पूर्वाधार छैन,’ आदर्श माविका प्राचार्य सन्तोष पोखरेल भन्छन्, ‘तर जुनसुकै वर्गका विद्यार्थी आए पनि गुणस्तरीय शिक्षामा हामी कुनै सम्झौता गर्दैनौँ।’

सुरुदेखि भर्ना प्रक्रिया खुला, पारदर्शी र प्रतिस्पर्धात्मक बनाएको विद्यालय व्यवस्थापनको दृढताले सामुदायिक शिक्षा क्षेत्रमा आशाको किरण झल्किएको छ। अब विद्यार्थीहरूको भिड हेरेर होइन, भित्र छिरेर पढ्ने वातावरणले विद्यालयको मूल्यांकन हुने समय आएको छ।