विराटनगर — गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिनमुनि भासिएको बोलेरो गाडी करिब ६ मिटर गहिराइमा पुगेको अनुमान गरिएको छ।

खानी तथा भूगर्भ विभागको चार सदस्यीय टोलीले घटनास्थलको निरीक्षण गरी म्याग्नेटोमिटर परीक्षण र ड्रिलिङको आधारमा यस्तो प्रारम्भिक निष्कर्ष निकालेको हो। टोलीले बोलेरो गाडीको सम्भावित स्थान पहिचान गर्दै अनुसन्धानको काम अघि बढाइरहेको छ।

टोलीका भूगर्भविद् नारायण अधिकारीका अनुसार म्याग्नेटोमिटरले चुम्बकीय क्षेत्र देखाएको ठाउँमा गरिएको तीन ड्रिलिङमध्ये दुईवटामा ड्रिल रड ६ मिटर गहिराइमै अड्किएको थियो। ‘त्यही आधारमा हामीले उक्त स्थानमा गाडी हुन सक्ने अनुमान गरेका हौं,’ उनले भने।

ड्रिलिङ रड एक स्थानमा ८ मिटर गहिराइसम्म सहजै गएकामा अन्य दुई स्थानमा ६ मिटरमै रोकिएपछि त्यहाँ गाडीको अवशेष हुन सक्ने संकेत देखिएको भूगर्भविद् अधिकारीको भनाइ छ। उक्त अनुमानलाई पुष्टि गर्न अझै थप परीक्षण आवश्यक रहेको उनको स्पष्टोक्ति छ।

दोस्रा भूगर्भविद् कृष्ण पाण्डेका अनुसार प्रोटोन म्याग्नेटोमिटरले गाडी भासिएको स्थानको केही पूर्वतर्फ ठूलो चुम्बकीय क्षेत्र देखाएको थियो। त्यसैको आधारमा ड्रिलिङ गरिएको र खोजी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

टोलीले गाडीसँगै आसपासको भौगोलिक बनोट तथा भूमिगत जलस्रोतबारे पनि अध्ययन गरिरहेको छ। खोजी र अनुसन्धान बुधबार पनि निरन्तर जारी रहने बताइएको छ।

गत शुक्रबार ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी रोकिराखिएको अवस्थामा एक्कासी जमिनमुनि भासिएर बेपत्ता भएको थियो। यस घटनाले स्थानीयस्तरमा भौगोलिक जोखिमको गम्भीर सवाल उठाएको छ।