विराटनगर — सगरमाथा आरोहणको यो वर्षको याम औपचारिक रूपमा सुरु भएको छ। आरोहणको तयारीस्वरूप डोरी टाँग्ने कार्य सम्पन्न गर्दै शुक्रबार बेलुकी ५ बजे सात जना शेर्पा सगरमाथाको शिखरमा पुगेका छन्।
पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएको टोलीले सफलतापूर्वक शिखरसम्म डोरी (रोप) टाँगेर मार्ग खुला गरेको हो।शेर्पा टोलीको नेतृत्व अशोक लामाले गरेका थिए।
टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा सहभागी थिए।‘अब डोरी टाँग्ने कार्य सम्पन्न भइसकेकाले मौसम अनुकूल भएमा अन्य आरोहीहरू पनि सगरमाथा शिखरतर्फ अघि बढ्नेछन्,’ निर्देशक अवस्थीले भने ।