विराटनगर— चालु वर्षको वसन्त याममा सगरमाथासहितका विभिन्न २६ हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म कुल ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी उठेको हो। संकलित रकममध्ये सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ प्राप्त भएको विभागले जनाएको छ।
यस याममा सगरमाथा आरोहणका लागि मात्र ५७ देशका ४५ समूहले अनुमति लिएका छन्। ती समूहमा ८४ जना महिला र ३७२ जना पुरुष गरी ४५६ जना आरोही सहभागी छन्।
वसन्त याममा अहिलेसम्म ११९ आरोहण समूहबाट १ हजार १२७ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्। तीमध्ये २४० महिला र ८८७ पुरुष छन्।
सगरमाथापछि आमादब्लम, ल्होत्से, मकालु, कञ्चनजङ्घा, नुस्से र अन्नपूर्णमा सबैभन्दा धेरै आरोही आकर्षित भएका छन्। आमादब्लममा १० समूहका १०२, ल्होत्सेमा ९ समूहका १०७, मकालुमा ८ समूहका ७९, कञ्चनजङ्घामा ७ समूहका ७५, नुस्सेमा ६ समूहका ७६ र अन्नपूर्णमा ६ समूहका ६६ जना आरोही छन्।
पर्यटन विभागले आरोहण अनुमति दिन क्रम जारी रहेकोले आगामी दिनमा संख्यामा वृद्धि हुने अनुमान गरेको छ। वसन्त यामलाई हिमाल आरोहणको अनुकूल समय मानिन्छ।
# सगरमाथा