विराटनगर — सहकारी ठगी अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले दुई सातामै अनुसन्धान सकाएर मुद्दा दायर गरेको छ। वैशाख १३ मा काठमाडौँको कपनबाट पक्राउ परेकी राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ बराबरको विगो मागसहित मुद्दा दायर गरेको हो।

राईमाथि ठगीका साथै संगठित अपराधसम्बन्धी कसुरसमेत लगाइएको छ। यद्यपि संगठित अपराध अन्तर्गतको मुद्दामा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था भए पनि राईको हकमा प्रहरीले दुई सातामै अनुसन्धान सकाएको हो। हालै फौजदारी अनुसन्धान र अभियोजन प्रक्रियामा स्वेच्छाचारिता बढेको भन्दै आलोचना भइरहेका बेला यो घटनाले थप प्रश्न उठाएको छ।

उनीविरुद्ध करिब आठ महिनाअघि नै पक्राउ पूर्जी जारी गरिएको थियो। तर सत्ताको संरक्षणमा प्रहरीले उनलाई लामो समयसम्म पक्राउ गर्न सकेको थिएन। चौतर्फी दबाबपछि मात्र प्रहरीले दुई साता अघि उनलाई पक्राउ गरेको हो।

सांसद राईले स्वर्णलक्ष्मी सहकारीको सञ्चालक रहेको बेला दुई करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। सोही आधारमा उनीविरुद्ध उक्त रकम बराबरको विगो माग गरिएको हो।

अनुसन्धानका क्रममा उनले सहकारीको निर्णयपुस्तिकामा रहेको हस्ताक्षर आफ्नो भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीसहित विभिन्न पाँच सहकारीमा भएको ठगी प्रकरणमा माया राईसँगै ओखलढुंगाका गितेन्द्र राई र पूर्वगृहमन्त्री रवि लामिछानेसमेत आरोपी छन्।
 

# माया राई