विराटनगर– ५० दिनदेखि थुनुवा ज्याकेटमा रहेका रवीन्द्र मिश्रले सर्वोच्चको आदेशपछि अदालत परिसरमै उक्त ज्याकेट खोलेका छन्।न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएलगत्तै पत्रकारहरूको उपस्थितिमा उनले थुनुवा ज्याकेट फुकालेका हुन्।

उनलाई अदालतको इजलास नम्बर ५ मा पेश गर्नुअघि मात्रै प्रहरीले हतकडी हटाएको थियो।मिश्रले आफूविरुद्ध राज्यले मनगढन्ते आरोप लगाएको भन्दै कुनै अपराध नगरेको दाबी गरे।

चैत १५ मा काठमाडौैँको तीनकुनेमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले त्यसमा आफू कुनै रूपमा संलग्न नरहेको स्पष्ट पारे।‘म राजसंस्थाको पक्षमा लागेको हुँ र लागिरहन्छु,’ मिश्रले भने,‘ ‘राज्यले न्याय गर्ला भन्ने विश्वासमा बन्दीप्रत्यक्षीकरणको निवेदन तत्काल दिइन, तर आरोप थपिँदै गएपछि निवेदन दिनुपर्यो।’

बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दा उनकी श्रीमती शारिका कार्कीले दायर गरेकी थिइन्। मिश्रलाई बिहान करिब ११ बजे सर्वोच्च अदालत ल्याइएको थियो भने करिब आधा घण्टापछि इजलासमा पेश गरिएको थियो। सुनुवाइका क्रममा उनी थुनुवा ज्याकेटमै उपस्थित थिए। छुटेपछि मिश्रले आफू अहिले हाजिरी जमानीमा रिहा भएको र अन्य विषय उपयुक्त समयमा खुलाउने बताए।

#रवीन्द्र #मिश्र