विराटनगर— नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा शनिबार चितवनको दासढुंगामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

एमाले चितवनको आयोजनामा तथा मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा आयोजित सभामा नेता तथा कार्यकर्ताहरूले दासढुंगा दुर्घटनास्थलमा रहेको शालिकमा माल्यार्पण गर्दै श्रद्धा सुमन अर्पण गरे । 

उक्त अवसरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भण्डारीको वैचारिक क्षमता अद्वितीय रहेको उल्लेख गर्दै ‘उहाँमा जुनसुकै कुरा जनतालाई बुझाउन सक्ने अद्भुत सामथ्र्य थियो,’ भने। उनले थपे, ‘हामी वर्षमा एक दिन दासढुंगा आइ फूल चढाउँछौं, तर उहाँहरूको परिवारले सधैँका लागि अभिभावक गुमाएको छ।’

संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट सफलतापूर्वक प्रमाणित भइसकेको दाबी गरे। उनले आश्रितलाई कुशल संगठक र आदर्श नेता भएको स्मरण गरे।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जेठ ३ लाई नेपाली राजनीतिमा अँध्यारो दिनको रूपमा चित्रण गरे।दुर्घटनामा ज्यान गुमाएका आश्रितका छोरा डा. सागर न्यौपानेले आजको दिनलाई ‘कालो दिन’ को संज्ञा दिँदै नेता द्वयको निधन कुनै दुर्घटना नभइ षड्यन्त्रपूर्वक गरिएको हत्या भएको आरोप लगाए। उनले विदेशी शक्तिहरूको संलग्नतासमेत भएको दाबी गरे।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतका नेताहरूले पनि मन्तव्य दिएका थिए।२०५० साल जेठ ३ मा नारायणगढ–मुग्लिन सडकखण्डको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो। उक्त घटनाको वास्तविक कारण अझै पनि स्पष्ट हुन सकेको छैन।

#भण्डारी #आश्रित