विराटनगर — खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा एक २२ वर्षीया महिलासँग बलात्कार गरेको आरोपमा स्थानीय युवक आङनिमा शेर्पा पक्राउ परेका छन्।
प्रहरीका अनुसार पीडित महिलाले उजुरी दिएपछि शुक्रबार राति शेर्पालाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
शेर्पामाथि ती महिलालाई बलात्कार गरेको गम्भीर आरोप लागेपछि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र मेडिकल परीक्षण तथा प्रारम्भिक बयान संकलनको प्रक्रिया सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।
पछिल्ला वर्षहरूमा महिला तथा बालबालिकामाथि यौनजन्य हिंसा, विशेषतः बलात्कारका घटनाहरूमा उल्लेखनीय वृद्धि देखिएको छ। यस्ता घटनालाई रोक्न फौजदारी संहिता २०७४ अनुसार कडा सजायको व्यवस्था भए पनि ग्रामीण क्षेत्रसम्म चेतना, पहुँच र प्रहरीको सक्रियता पुग्न अझै चुनौती रहेको देखिन्छ।
प्रहरीका अनुसार बलात्कार पुष्टि भएमा अदालतको फैसलाअनुसार ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुन सक्छ, भने घटनाको गम्भीरता अनुसार अझ कडा सजायको व्यवस्था छ।
यौन हिंसासँग सम्बन्धित मुद्दा संवेदनशील भएकाले पीडितको गोपनीयता संरक्षण गर्दै अनुसन्धान अघि बढाइने गरिएको प्रहरीको भनाइ छ। घटनामा संलग्न भएको पुष्टि भएमा आरोपीमाथि कानुनी दायरामा ल्याइने प्रतिबद्धता प्रहरीको छ।
द नेप्लिज डट कम पीडितको सम्मान, सुरक्षाको ग्यारेन्टी र न्याय प्राप्तिको संवैधानिक अधिकारको पक्षमा स्पष्ट छ । घटनाको निष्पक्ष अनुसन्धान र समयमै न्याय होस् भन्ने हाम्रो अपेक्षा छ।