विराटनगर— देशभर पश्चिमी प्रणाली र स्थानीय वायुले प्रभाव पारिरहेकाले मंगलबार सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको मार्खुमा अहिले भारी वर्षा भइरहेको समेत उनले जानकारी दिए।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, वाग्मती, गण्डकी लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै मधेस प्रदेशसहित कोसी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि विभागले जनाएको छ।
काठमाडौँ उपत्यकामा दिउँसो वर्षाको सम्भावना रहेको मौसमविद् दाहालले बताए। ‘बिहान वर्षा नहुन सक्छ तर दिउँसो काठमाडौँमा वर्षा हुने देखिन्छ,’ उनले भने।
रातिको समयमा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मुख्यतः सफा वा आंशिक बदली रहने विभागले जनाएको छ।
मौसमी प्रणालीको विश्लेषणअनुसार हाल देशमा पश्चिमी वायु प्रणाली सक्रिय रहेको छ भने बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावाको आंशिक प्रभाव समेत देखिएको विभागले स्पष्ट पारेको छ।
#वर्षा