भारतीय ‘गोदी मिडिया’ को आलोचना गर्ने नेपाली पत्रकारहरुको आफ्नै अवस्था झनै भ्रम सिर्जना गर्ने खालको छ । नेपाली सञ्चारकर्मीको एउटा ठूलो जमातका लागि ‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने,’ हाम्रो समाजमा प्रचलित भनाइ दुरुस्तै मेल खान्छ ।

विराटनगर–  धारा र भान्साको सामान किन्ने क्रममा म संयोगले पत्रकारिताको आईसीयूमा पुगेछु । सोमबार बिहान विराटनगरको एउटा हार्डवेयर पसलमा यस्तो दृश्य देखेँ, जसले केवल समाचार पढ्ने आँखामात्र होइन, मभित्र पत्रकारिताप्रतिको बाँकी रहेको आस्था नै हल्लाइदियो। कुनामा थुप्रिएका राष्ट्रिय र स्थानीय पत्रिकाहरू अलपत्र, साहुजीको हातमा भने पुरानो सिद्धान्तवादी सम्पादकहरुले अझै प्रकाशन गरिरहेको भारतको एक प्रतिष्ठित पत्रिका । जिज्ञासाले सोधेँ, ‘नेपाली पत्रिका किन कुनामा हुत्त्याउनु भएको?’ उनले ठट्यौलो शैलीमा भने, ‘अब यी पढ्ने पत्रिका रहेनन्, राजनीतिको मुखपत्र मात्रै हुन् ।’

यो सामान्य संवाद पत्रकारिताको नसाको टट्कारो जाँच जस्तो थियो—जहाँ नतिजा डर लाग्दो आयो। जनताले अब मिडियालाई सूचनाको स्रोत होइन, संदेहको केन्द्र मानेका छन्। समाचारको नाममा धम्की, ब्ल्याकमेल र चाकरीको यस्तो जालो बुन्नेक्रम चलिरहेको छ, जसले नेपाली पत्रकारितालाई मूलधारबाट विचलित मात्र होइन, नैतिकताविहीन खाल्डोमा फालिसकेको छ। धेरै नयाँ–पुरानो पत्रकार र सम्पादकको यस क्षेत्रबाट पलायनले पनि सतही पत्रकारिताको गम्भीर कथा भन्छ ।

केही दिनअघि विराटनगरका केही राम्रा छवि भएका उद्योगी व्यवसायीहरूसँग अनौपचारिक संवादको अवसर जुर्यो। पत्रकारिताबारे कुरा उठ्दा उनीहरू सबै एकमुख थिए, ‘पत्रकारिता मरेको छ। बाँकी छ त केवल दलाली पत्रकारिता।’ उनीहरूका अनुसार अब मिडियाको ग्राहक बन्नु स्वेच्छिक होइन, अनिवार्य करको रूपमा लादिएको बाध्यता हो, विज्ञापन दिनु भनेको अनाहकको दुखबाट बच्न गुण्डालाई सुरक्षा रकम (सेक्युरिटी मनि) बुझाए जस्तै हो ।’ 

एकजना व्यवसायीले दुखेसो पोखे, ‘गुण्डासँग त सौदाबाजी गर्न सकिन्छ, पत्रकारसँग गर्न गाह्रो छ।’ किनभने आजको पत्रकारिताले आलोचना होइन, ठगीको अस्त्र बोकेको छ। विज्ञापन नदिँदा वा नगद नथप्दा अनियमितता गरेको नाममाव्यापारीहरुको चरित्र हत्या गरिन्छ— ‘जनहित’ को खोल ओढेर। बोल्यो कि पोल्यो भन्ने अहिलेको अवस्थाले मौन बस्नु परेको छ । खण्डन गर्दा वा मुद्दा मामिलामा जाँदा थप चौघेरामा परेर व्यापारै चौपट हुन्छ ।’

देशकै एक चर्चित मिडिया हाउसले पटक–पटक व्यवसायीहरूलाई ब्ल्याकमेल गर्दै आएको भनी मोरङका एक जना समाजसेवी र सांसदले स्पष्ट आरोप लगाए। उनले नामै लिएर त्यस मिडिया समूहलाई ‘बार्गेनिङ हाउस’ भने। यो टिप्पणी गुनासो होइन, हाम्रो पत्रकारिता प्रणालीको कुरूप सत्यको परत खोल्ने अभिव्यक्ति हो।

अहिले धेरैजसो मिडिया ‘सूचना’ दिने दायित्वभन्दा पनि वार्ता, छलफल वा बहस गर्ने नाममा ‘सौदाबाजी’ गर्ने प्लेटफर्म बनेका छन्। जसका ग्राहक हुन्, शक्तिकेन्द्र, व्यापारी, नेता, दूतावास र गैरसरकारी संस्थाहरु । कतिपय मिडियाहरुलाई यहाँस्थित दूतावासहरु मार्फत अमेरिका, चीन, भारत र पाकिस्तान सरकारको गैरसरकारी संस्थाको कोषले धानिरहेको छ ।

यी सबबीच फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता माध्यममा खबर हेर्ने चलनको बढ्दो लोकप्रियता केवल प्रविधिको परिणाम होइन, विश्वासको विकल्प हो। नयाँ पुस्ता अब मुलधारको मिडिया होइन, स्रोत र सन्दर्भमा पुगेर सत्य थाहा पाउने प्रयासमा छन्। किनभने उनीहरू बुझ्न थालेका छन्, ‘नेपाली मिडिया अब सत्य होइन, स्क्रिप्ट पढ्छ।’

भारतीय ‘गोदी मिडिया’ को आलोचना गर्ने नेपाली पत्रकारहरुको आफ्नै अवस्था झनै भ्रम सिर्जना गर्ने खालको छ । नेपाली सञ्चारकर्मीको एउटा ठूलो जमातका लागि ‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने,’ हाम्रो समाजमा प्रचलित भनाइ दुरुस्तै मेल खान्छ ।

यो अवस्थाको मूल कारण– पत्रकारिताको ‘गेटकिपर (छनोटकर्ता)’ को जिम्मेवारी छोडेर पत्रकारहरूले दल र पैसाको ‘डोर ह्याण्डल’ समातिसकेका छन्। कतिपय संस्था विदेशी परियोजना र गुप्त एजेण्डा सञ्चालकहरूको फण्डमा पलाइरहेका छन्। स्वतन्त्र प्रेसको नाममा जब ब्ल्याकमेल, विज्ञापन र सत्ताको नाटक चलाइन्छ, तब पत्रकारिता पेसा होइन, एक किसिमको सूचनामूलक गुन्डागर्दी बन्न पुग्छ ।

अब प्रत्येक गाउँ, टोल र वडामा आफ्नै फेसबुक पेज, युट्युब च्यानल, ग्रुपहरू छन्, जसले स्वतन्त्र पत्रकारिताको सास फेरिरहेका छन्। उनीहरू सन्देश दिइरहेका छन्, ‘अब दादागिरी पत्रकारिता टिक्दैन। हामी आफ्ना आवाज आफैँ उठाउँछौं।’ यसले देखाउँछ, मिडियाको मोनोपोली भत्किँदैछ।

म र म जस्ता थुप्रै पत्रकारहरुले दैनिक गुजाराका लागि अर्कोतिर श्रम गर्दै वा आफूले जानेका अन्य काम गर्दै पत्रकारिता जोगाउने प्रयास गरिरहेका छौं। तर पेट र सिद्धान्तबीचको द्वन्द्वमा हामी दिनदिनै घोटिइरहेका छौं। स्वतन्त्रताको नाममा कति सम्झौता गर्न सकिन्छ? यो प्रश्न गहिरिँदैछ।

नेपाली पत्रकारिता अहिले सत्ताको स्वार्थ, पैसाको दबाब र डरको घेरामा छ। यस्तो बेलामा आम नागरिकले मिडियामाथि भरोसा गुमाउनु स्वाभाविक हो। पत्रकारिता समाजसेवा नहोला, तर यो ‘ब्ल्याकमेल सेवा’ त झन् हुनुहुन्न। मिडिया संस्थाहरूले समयमै आत्ममूल्यांकन नगरे भने त्यो दिन टाढा छैन, जब ‘पत्रकार’ भन्ने शब्द नै गाली बन्छ।

मिडियाले यदि अझै पनि जनतालाई हेप्ने शैली नफेरे, सत्यको आवाज दबाउने खेल रोकेन भने जनता आफैं आफ्नो माध्यम बनाउँछन् र मिडिया नामको पसलमा ताल्चा लाग्छ।

#पत्रकारिता#को# आईसीयू

(आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर, तीन दशकभन्दा बढी समयदेखि ग्रामीण क्षेत्रदेखि काठमाडौँसम्म मूलधारको पत्रकारितामा सक्रिय ‘द नेप्लिज डट कम’ का प्रधान सम्पादक जितेन्द्र साहको यो व्यक्तिगत विचार हो । साह कुनै पनि राजनीतिक दल निकट पत्रकार संघ, संगठन, मञ्च, युनियन, चौतारी वा समाज लगायतमा आबद्ध छैनन् भन्ने कुरा प्रष्ट गर्न चाहन्छौं ।)