विराटनगर — सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचारमा संलग्न भएको आरोपमा मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६५ वर्षीय कायस्थलाई आइतबार जनकपुरबाट पक्राउ गरेको हो।
अख्तियारका अनुसार सांसद सिंहले विभिन्न उपभोक्ता समिति गठन भएको देखाइ तिनका खातामा दाखिला भएको रकम आफ्ना निजी सचिव कायस्थमार्फत झिकाइ आफू र पत्नीको खातामा राख्ने कार्यमा संलग्न भएको पाइएको छ। यस्तै केही रकम सचिव कायस्थकै खातामा पनि जम्मा गरिएको आयोगको ठहर छ।
‘उक्त कार्यमार्फत सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचारजन्य क्रियाकलाप गरिएको उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको हो,’ अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले भने ।
महत्वपूर्ण प्रमाण संकलनको क्रममा प्रदेशसभा सदस्य सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिइएको आयोगले जनाएको छ। यससँगै थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
पक्राउ परेका कायस्थ जनकपुर उपमहानगरपालिका–९, सरस्वती टोलमा बसोबास गर्दै आएका छन्। उनी महोत्तरी जिल्ला, जलेश्वर–१० स्थायी निवासी हुन्।
#विनोदकुमार# लाल# कायस्थ