सिड्नी – अस्ट्रेलियामा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूमाझ गैरकानुनी गतिविधि र घरेलु हिंसाका घटना तीव्र रूपमा बढिरहेकोप्रति स्थानीय प्रहरी अधिकारी तथा कूटनीतिज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सिड्नीमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममार्फत न्यु साउथ वेल्स पुलिस फोर्सका डिटेक्टिभ सर्जन्ट सुदीप स्वारले पछिल्ला महिनाहरूमा नेपाली मूलका युवाहरू आपराधिक क्रियाकलापमा संलग्न भएको तथ्य प्रस्तुत गरे।
प्रत्येक महिना १०–१२ नेपाली मूलका युवा जेल
स्वारका अनुसार न्यु साउथ वेल्स राज्यमा मात्र हरेक महिना करिब १० देखि १२ नेपाली मूलका युवा बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा, लागुऔषध दुर्व्यसनजस्ता गम्भीर अभियोगमा जेल चलान हुने गरेका छन्।
उनले चेतावनी दिँदै भने, ‘यदि यस्ता घटना समयमै नियन्त्रण गर्न सकिएन भने नेपाली समुदायको सामाजिक छवि मात्र नभइ अस्ट्रेलियामा उनीहरूको भविष्यसमेत संकटमा पर्न सक्छ।’
उजुरी नगर्ने प्रवृत्ति समस्याको मूल
स्वारले प्रहरीमा उजुरी नगर्ने प्रवृत्तिले गम्भीर घटनाहरू लुकेर बसिरहेको बताए। उनले मनि लाउन्डरिङ (सम्पति शुद्धिकरण) र मानव तस्करसँग सम्बन्धित अपराधहरूमा पनि उजुरी नआउँदा प्रहरी सक्रिय हुन नसकेको बताए।
‘देख्ने, सुन्नेले हचुवामा नछोडेर प्रहरीलाई खबर गर्नुपर्छ,’ उनले आग्रह गरे, ‘उजुरी प्राप्त भएपछि हामी तुरुन्तै कारबाहीमा उत्रिन्छौं।’
वाणिज्यदूत र एनआरएनए अध्यक्षको अपिल
कार्यक्रममा सहभागी भएका अस्ट्रेलियास्थित नेपाली वाणिज्यदूत सञ्जीव शर्माले आपराधिक संलग्नताले नेपाली समुदायकै प्रतिष्ठामा आँच आउने खतरा रहेको भन्दै सबैलाई संयमित र जिम्मेवार बन्न आग्रह गरे।
‘हामी सबैको साझा जिम्मेवारी हो—समुदायको इज्जत जोगाउनु,’ उनले भने।एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्ता चेतनामूलक कार्यक्रममा संस्थाको निरन्तर साथ रहने प्रतिबद्धता जनाए।
सहभागीको चासो घरेलु हिंसा र लागू औषधमा
कार्यक्रमका सहभागीहरूले घरेलु हिंसा र लागू औषध दुर्व्यसनसम्बन्धी अस्ट्रेलियाली कानुन, प्रहरीको कार्यशैली तथा नेपालीहरूले जान्नैपर्ने सुरक्षा र कानुनी अधिकारबारे प्रश्न गरेका थिए। प्रहरी अधिकारी स्वारले ती सबै विषयमा प्रस्ट र व्यावहारिक उत्तर दिए।
📌 सम्पर्कमा रहनुहोस्
यस समाचारसँग सम्बन्धित थप जानकारी वा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हामीलाई [email protected] मा लेख्नुहोस्।।
#अस्ट्रेलिया# नेपाली#गैरकानुनी #गतिविधि# घरेलु #हिंसा