विराटनगरमा– ‘नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचत्रि निर्माण सम्बन्धी कार्यशाला–२०८२’ विराटनगरमा शुरू भएको छ । 

चाँदनी फिल्म विराटनगरको आयोजना र चलचित्र विकास बोर्ड काठमाडौको सहकार्यमा सुरु भएको चलचित्र निर्माणसम्बन्धी कार्याशालाको कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गरेका छन् । मन्त्री भण्डारीले कोशी प्रदेश सरकार साहित्य र चलचित्रको विकासका लागि दृढ रहेको बताएका हुन् । उनले साहित्य र चलचित्र क्षेत्रको उन्नयनका लागि सरकार गम्भीर रहेकोले यस क्षेत्रमा लगानी वृधि गर्ने प्रतिबद्धता जनाएका छन् । 

साहित्यकार एवं गजलकार मधु पोखरेलले अध्यक्षता गरेको कार्यक्रममा चाँदनी फिल्मका अध्यक्ष केशब रायमाझीले साहित्कार र चलचित्रकर्मीबीचको प्रगाढ सम्बन्ध स्थापनाका लागि कार्यशाला सहयोगी सिद्ध हुने बताएका हुन् । उनले साहित्यको सानो दायरालाई ठूलो दायरामा पुर्‍याउन चलचित्रले मद्दत गर्ने उल्लेख गरेका छन् ।
 
प्राध्यापक रमेश दाहालले साहित्य र चलचित्रका विविध आयामबारे आख्यान दिँदै साहित्यकारले चलचित्रमा कसरी लेख्ने भनेर कार्यशालाले सिकाउने बताएका हुन् । ‘साहित्य र चलचित्रको सम्बन्ध समाजसँग भएकोले दुवैले सामाजिक मूल्य र मान्यता, विकृति र विसङ्गति अनि समाज रूपान्तरणको सवाललाई गहनताकासाथ उठाउनुपर्ने दायित्व निर्वाह गर्न आग्रह गर्नुपर्छ,’ उनले भने, ‘साहित्यको उत्कृष्टता कलम र चलचित्रको क्यामेरा रहेकोले यसलाई समाज रुपान्तरणमा केन्द्रि गर्नु अहिलेको अपरिहार्यता हो ।’

प्रशिक्षक विजय सुब्बाले चलचित्रमा प्रयोग गरिने भाषा साहित्यमा प्रयोग गरिने भाषाभन्दा फरक भएपनि सन्देश एउटै हुने बताएका छन् । कार्यक्रममा गायक नितिन गजुरेल, रामा मण्डलले प्रस्तुति दिएका थिए भने स्थानीय कलाकारले विभिन्न भेषभुषामा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । आधा दर्जन साहित्यकारहरूले आ–आफ्नो सिर्जना वाचन गरेका थिए ।

कार्यक्रममा चलचित्र क्षेत्रमा लामो समय योगदान गरेका निर्देशक सन्तोष सरकार, गायक दिनेश राई, नृत्य निर्देशक कविता भुषाल लगायतलाई सम्मानित गरिएको थियो ।