लौराको जिब्रो र घाँटीको लिम्फ नोड (सङ्क्रमण विरुद्ध लड्न सहयोग गर्ने सानो ग्रन्थि) समेत शल्यक्रिया गरी हटाइएको थियो। त्यसपछि उनलाई बोल्न र खान सिक्नुपर्ने अवस्था आयो। तर इम्युनोथेरापी औषधिले उनको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। ‘म अझै जीवित छु भन्ने कुरा आफैँमा आश्चर्यजनक लाग्छ,’ उनले बीबीसीलाई भनिन्।
विराटनगर– टाउको र घाँटीको क्यान्सरबाट पीडित बिरामीको उपचारमा प्रयोग गरिएको इम्युनोथेरापी औषधिको क्लिनिकल परीक्षण सफल भएको छ। हालै सम्पन्न परीक्षणले क्यान्सरबाट पुनः पीडित हुने जोखिम घटाउने मात्र होइन, बिरामीको औसत आयु पनि दोब्बरले लम्ब्याउन सक्ने देखाएको छ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार यो परीक्षण टाउको र घाँटीको क्यान्सर भएकाहरूका लागि आशाको संकेत बनेको छ। सामान्यतया यस्तो क्यान्सर भएका आधाभन्दा बढी बिरामीको पाँच वर्षभित्र मृत्यु हुने गरेको तथ्यांक छ।
लन्डनको क्यान्सर अनुसन्धान संस्थानका विज्ञहरू समेत सहभागी भएको यो अन्तर्राष्ट्रिय अध्ययनमा ३ सय ५० भन्दा बढी बिरामीलाई इम्युनोथेरापी औषधि पेम्ब्रोलिजुमाब दिइएको थियो। औषधि शल्यक्रिया अघि र पछि दिइएको थियो, जसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने काम गर्छ।
बेलायतमा परीक्षणको नेतृत्व गरेका प्रोफेसर केभिन ह्यारिङ्टनका अनुसार हामी शरीरको प्रतिरक्षा प्रणालीलाई ट्युमरसँग लड्न आवश्यक क्षमताको मौका दिन्छौं। शल्यक्रियापछि पनि एक वर्षसम्म औषधि निरन्तर दिइन्छ।
उक्त परीक्षणमा सहभागी ४५ वर्षीया लौरा मास्र्टन यसको प्रत्यक्ष उदाहरण हुन्। २०१९ मा जिब्रोको क्यान्सर भएको थाहा पाउँदा उनी केवल ३९ वर्षकी थिइन् र चिकित्सकहरूले उनको बाँच्ने सम्भावना ३० प्रतिशत मात्र रहेको बताएका थिए।
लौराको जिब्रो र घाँटीको लिम्फ नोड (सङ्क्रमण विरुद्ध लड्न सहयोग गर्ने सानो ग्रन्थि) समेत शल्यक्रिया गरी हटाइएको थियो। त्यसपछि उनलाई बोल्न र खान सिक्नुपर्ने अवस्था आयो। तर इम्युनोथेरापी औषधिले उनको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। ‘म अझै जीवित छु भन्ने कुरा आफैँमा आश्चर्यजनक लाग्छ,’ उनले बीबीसीलाई भनिन्।
परीक्षणको नतिजा अनुसार औषधि लिएका बिरामीमा क्यान्सरमुक्त हुने औसत अवधि साढे दुई वर्षबाट बढेर पाँच वर्ष पुगेको छ। तीन वर्षपछि उनीहरूको शरीरमा क्यान्सर पुनः फैलने जोखिम १० प्रतिशतले घटेको पाइएको छ।वैज्ञानिकहरूका अनुसार यो विधि टाउको र घाँटीको क्यान्सर उपचारमा ठूलो उपलब्धि बन्न सक्नेछ।
#इम्युनोथेरापी