विराटनगर– संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत आज बिहान कार्यक्रम स्थगन गरिएको घोषणा गरिएको हो।
विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा प्रहरी हिरासतमा परेका आन्दोलनकारी नेताहरू रिहा भइसकेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनप्रति समितिको प्रतिबद्धता दोहोर्याइएको छ। ‘हाम्रो उद्देश्य सरकारलाई खबरदारी गर्नु हो, जनतालाई सास्ती होइन,’ विज्ञप्तिमा भनिएको छ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आइतबार सामाजिक सञ्जालमार्फत पार्टीको धारणा स्पष्ट पार्दै सोमबारको उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने जानकारी दिएका थिए।उनले लेखेका छन्, ‘सामान्यतया राप्रपा बन्द–हडताल जस्ता अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। सरकारको तर्फबाट पक्राउमा परेका नेता–कार्यकर्ताहरू रिहा भइसकेकाले उपत्यका बन्दमा हाम्रो सहभागिता रहने छैन।’
संयुक्त जनआन्दोलन समितिको यो निर्णयले आन्दोलनप्रतिको जिम्मेवार चरित्र झल्काउँछ भने राप्रपाले पुनः एकपटक आफ्नो ‘शान्तिपूर्ण लोकतान्त्रिक मार्ग’ को नीतिप्रति प्रतिबद्ध देखिन्छ।
#बन्द# फिर्ता