विराटनगर– विराटनगरस्थित आरोहण गुरुकुलमा बिहीबारदेखि दुई दिने विराट वाङ्मय उत्सव–२०८२ सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा गुरुकुलले आयोजना गरेको उत्सवको महानगरपालिकाकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले उद्घाटन गरेर शुभारम्भ गरेकी हुन् ।
उद्घाटन समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविता संग्रह र युवाकवि रमेशचन्द्र अधिकारीको माझीहाडाम कवितासंग्रह कार्यबाहक प्रमुख कार्की, वरिष्ठ कवि जसराज किराँती र आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले संयुक्त रुपमा विमोचन गरेका छन् । आरोहरण गुरुकुलले प्रकाशित गरेको ‘काव्यारोहण’ पनि विमोचन गरिएको हो ।
वरिष्ठ कवि किराँतीले सम्भाषण प्रस्तुत गरेका थिए । कार्यबाहक मेयर कार्की, आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
उत्सवमा मेरो स्वरः हाम्रो आवाज, हाम्रो भाषाः हाम्रो पहिचान, साहित्यको सामाजिकता, संस्मरणमा तथ्य र काल्पनिकी, सिर्जना सँगसँगै विद्यालयमा सिकाइ र सिर्जना, नवयुगः नवआवाज, अनुवादका अड्चन, गीतका गुञ्जनः संगीतका सूर, बालकृष्णको विरासत लगायतका प्रस्तुति भएको गुरुकुलका अध्यक्ष क्षेत्रीले बताएका हुन् ।