विराटनगर– यस वर्षको मनसुन प्रणाली आज (शुक्रबार) देखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन २३ दिनपछि सम्पूर्ण देशमा सक्रिय भएको पुष्टि गरेको हो।

नेपालमा यो वर्षको मनसुन जेठ १५ मा (२०२५ मई २९) देशको पूर्वी भूभाग हुँदै प्रवेश गरेको थियो। त्यसपछि क्रमशः कोशी प्रदेशको अधिकांश भागमा फैलिएको मनसुन जेठ २९ (२०२५ जुन १२) मा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पूर्वी क्षेत्रमा विस्तार भएको थियो।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन फैलिएको छ। ‘अब सम्पूर्ण देशमा मनसुन सक्रिय भएको छ,’ उनले भनिन्, ‘कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो भागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने पश्चिम क्षेत्रतर्फ स्थानीय र पश्चिमी वायुले समेत प्रभाव पारिरहेको छ।’

उनका अनुसार भारतको पश्चिम बङ्गाल आसपासमा विकसित न्यून चापीय क्षेत्रको पनि नेपालमा आंशिक असर परेको छ।

नेपालमा मनसुन सामान्यतः जुन १३ तिर पूर्वी भेकबाट प्रवेश गरी एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष मनसुन औसत मितिभन्दा १५ दिन अगावै अर्थात् जेठ १५ मा नै नेपाल प्रवेश गरे पनि देशभर फैलिन २३ दिन लागेको हो।

मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर निगरानी गरिरहेको जानकारी दिँदै सबैलाई अद्यावधिक सूचना हेरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

#मनसुन