विराटनगर– सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत गर्न नाम छनोट गरिएको छ । पत्रकारहरु सुवास ढकाल, बन्धु पोखरेल, अनिल श्रेष्ठ र रुमा दाहालको नाम छनोट गरेको हो ।
सञ्चारकर्मी सञ्चार सहकारीको आइतबार बसेको कार्यसमिति बैठकले प्रत्येक वर्ष असार २७ गते मनाइने स्थापना दिवसको अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको छ । पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाइएको सहकारीका अध्यक्ष दीपक दाहालले जानकारी दिएका हुन् ।
अध्यक्ष दाहालका अनुसार ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवम् नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास ढकाललाई प्रदान गर्ने निर्णय भएको छ ।
१० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार विराट पोष्टकी पत्रकार रुमा दाहाल (निशा) लाई, २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका सम्वाददाता अनिल श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष दाहालले बताएका छन् ।
यस्तै, ५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवम् उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेललाई प्रदान गर्ने निर्णय भएको उनले बताएका हुन्।
यसअघि, तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मानबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान र मोहन भण्डारी सम्मानित भई सकेका छन् । मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल र झुना भट्टराई सम्मानित भई सकेका छन् ।
मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्ण सम्मानित भई सकेका छन् ।
त्यस्तै, ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट इलामका भीम चापागाईं, काठमाडौंका गजेन्द्र बुढाथोकी, मोरङका अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल र सुशीला पाठक सम्मानित भई सकेका छन् ।