मोरङ– अब रंगेलीबासीले राहदानी बनाउन विराटनगर वा अन्यत्र जानु पर्दैन । आज आइतबारबाट ईलाका प्रशासन रंगेलीमा विद्युतीय राहदानी सेवा सञ्चालन भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
यस अघि मोरङको हकमा जिल्ला प्रशासन कार्यालय र उर्लाबारीस्थित ईलाका प्रशासन कार्यालयमा यो सेवा उपलब्ध थियो । अब ईलाका प्रशासन रंगेलीको कार्यक्षेत्रमा पर्ने विभिन्न पालिकाका सेवाग्राहीले राहदानीकै लागि मात्र विराटनगर आउनु पर्ने बाध्यता हटेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय मोरङको अनुसार उक्त ईलाका प्रशासन कार्यालय अन्तर्गत पर्ने स्थानीय तहका नागरिकले कृषि विकास बैंक रंगेली शाखामा निर्धारित राजस्व बुझाइ उक्त सेवा लिनसक्छन् । मोरङकै पुरानो बजार रंगेलीमै राहदानी बन्न थाले पछि उक्त क्षेत्रका स्थानीयले खुशी व्यक्त गरेका छन् ।