काठमाडौँ– सरकारले फेरि वार्तामा बोलाए पछि नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौमा आन्दोलनरत महासंघले थप रणनीति तय गर्न बैठक बोलाएको हो । ‘आन्दोलनको समीक्षा बैठकमा छौँ,’ आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई बोलाएको छ । सरकारले वार्ताको मिति बुधबार (भोलिको लागि) तोकेको छ । वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरोकारवाला सरकारी पक्षसँग छलफल गरेपछि शिक्षकहरूलाई वार्ताको लागि पुनः बोलाइएको हो । शिक्षकहरू यस पटक वार्तामा सहभागी हुने विश्वास सरकारको छ । यसअघि दुई पटक बोलाएको वार्तालाई महासंघले अस्वीकारेको थियो ।