कुटपिटमा संलग्न ७ जना पक्राउ

विराटनगर– बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुर्नस्थापना  केन्द्रमा बिहीबार मध्यराति भएको कुटपिटमा  एक जनाको मृत्यु भएको छ ।

बारा प्रहरीका अनुसार कलैया–९ रामपुर टोलका ३७ वर्षीय धीरेन्द्र भनेर चिनिने प्रदीपप्रसाद मण्डलको ज्यान गएको हो । उनी सुधार केन्द्रमा १९ दिनअघि भर्ना भएका थिए । केन्द्रभित्रका अन्यसँग उनले वादविवाद गरे पछि कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लग्दा चिकित्सकले  मृत्यु भएको घोषणा गरेको प्रहरीले भनेको छ । कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउहरूमा कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सर्राफ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सर्राफ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्ता छन् ।

सुरज शेख र साहिल अली फरार छन् । प्रहरीका अनुसार उनीहरूले मण्डलको मृत्युलाई भवितव्य देखाउन सुधार केन्द्रमा जोडिएको सीसीटीभी क्यामेरा निकालेर फ्याँकेका थिए । तर आरोपितहरु पक्राउसँगै प्रहरीले सीसीटीभी फुटेज समेत ‘रिकभर’ गरेको छ । । उनीहरुले मिलेर मण्डललाई कुटपिट गर्दै गरेको दृश्य सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।