विराटनगर– अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानी एवं स्वास्थ्यसँग सम्बद्ध कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उक्त रकम निकासा निर्णय गरेका हुन् । यो रकममा स्वास्थ्य बिमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकको उपचार लगायतका लागि ६० करोड र मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भागमा २४ करोड रुपैयाँ परेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको पनि बताएका छन् । काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारी र निजी दुवैमा चिकित्सक र नर्सहरुको पारिश्रमिक बढाउने गरी सरकार अघि बढिरहेको विश्वास दिलाएका छन् ।