सुनसरी– कोशी प्रदेशसभामा प्रस्तुत गरिएको कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा भएको व्यवस्थाप्रति स्वतन्त्र पत्रकार संघ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरू तत्काल संशोधन गर्न माग गरेको छ।
संघले जारी गरेको प्विज्ञप्तिमा पत्रकार तथा सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने खालका व्यवस्था विधेयकमा समावेश गरिएको भन्दै त्यसको विरोध गरिएको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्ने, सञ्चार माध्यम सञ्चालनमा रोक लगाउने र आचारसंहिता उल्लंघनको आरोपमा क्षतिपूर्ति भराउने जस्ता प्रावधानहरू प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको स्वतन्त्र पत्रकार संघ सुनसरीको ठहर छ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारहरूले खेलेको भूमिका उल्लेख गर्दै स्वतन्त्र पत्रकार संघ सुनसरीका सचिव रविन्द्र कुमार यादवले राज्यले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कदम चाल्न नहुने स्पष्ट पारे। प्रस्तावित विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण हो। यसलाई सच्याउन सबै पत्रकार, नागरिक समाज र सरोकारवाला निकाय एकजुट भएर लाग्न विज्ञप्तीमार्फत आह्वान गरिएको छ ।