विराटनगर । मिल्स गोल्डकप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा मोरङको लेटाङ्ग फुटबल क्लबले आयोजक लालिगुराँस स्पोर्टिङ क्लब रानीलाई पराजित गर्दै सेमिफाइलनमा पुगेको छ । 
 
मिल्स गोल्डकप फुटबल ट्रष्टले आयोजना गरेको पाँचौ मिल्स गोल्डकप विराटनगरको जुट मिल खेल मैदानमा भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लेटाङ्ग सेमिफाइलनमा पुगेको हो ।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा लेटाङ्गका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे । आयोजकका विवेक राई र कैलाश बस्नेतले गरेको प्रहार लेटाङका गोलरक्षक पूर्ण चेम्जोङ्ले उत्कृष्ट बचाउ गर्दै टिमको जित सुनिश्चित गरेको थियो । टाइब्रेकरमा दुई गोल रोक्न सपल गोलरक्षक चेम्जोङ् म्यान अफ द म्याच घोषित भए । लेटाङको तर्फबाट टाइब्रेकरमा आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे । 

जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । लेटाङको जितसँगै मिल्स गोल्डपको सेमिफाइनलको समिकरण पनि पूरा भएको छ । यसअघि मंगलबार पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै सुनसरी इटहरीको टीएफसी तालतलैया सेमिफाइलनमा पुगिसकेको छ । फ्युजन फुटबल क्लब उदयपुरले सप्तरीको प्रोगेसिभ युवा क्लबलाई १–० गोलले हराउँदै सेमिफाइलनको यात्रा सुरक्षित गरेको छ ।  पेमा स्पोर्टिङ क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको छ ।