विराटनगर– जनप्रतिनिधिले कर्मचारीलाई कुटपिट गर्ने क्रम नरोकिए पछि सुरक्षाको प्रत्याभूति दिलाउनका लागि सरकारको ध्यानाकर्षण गराउन दाङको राप्ती गाउँपालिकाका नौटै वडा कार्यालयका सचिवहरुले पेन डाउन गरेका छन् ।
एमालेबाट निर्वाचित तनहुँको बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार वडा सचिव नवीन भुसाललाई कुटेका थिए । गुरुङले भुसालको घाँटी अठ्याएर मुक्का प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो ।
रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष करम हुसेन खानले पनि सोमबारै कार्यपालिकाको बैठकमा शिक्षा अधिकृत मधुप्रसाद घिमिरेलाई हातपात गरेका थिए । कर्मचारीले यसको विरोधा लगतै कार्यालयको सेवा ठप्प पारेका थिए ।
उनीहरुले दुवै घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै कार्यालयमा सुरक्षित वातावरण नबने काममा नफर्कने चेतावनीसमेत दिएका छन् । ‘…सचिवहरुद्वारा पेन डाउन गर्ने निर्णय गरेका छौँ, यस किसिमको घटनाको विरोधमा ऐक्यबद्धता प्रकट गर्नुहुन कर्मचारी शुभेच्छुक संघ संगठनलाई हार्दिक आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।