काठमाडौँ– पूर्वीनवलपरासीको विनयी खोलामा शुक्रबार बिहान आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिएका छन्।
डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो। अत्यावश्यकबाहेकका सवारी साधन खोलाको दुवै किनारमा रोकिएका छन्। डीएसपी नेपालका अनुसार अत्यावश्यक सवारीहरूलाई होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फ डाइभर्ट गरिएको छ।
उक्त स्थानमा गत पुसमा भारतीय ट्रकको ठक्करबाट विनयी खोलाको मूल पुल भाँचिएको थियो। त्यसपछि अस्थायी डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो। तर उक्त डाइभर्सन गत चैत ३० मा पनि बाढीले बगाएको थियो।
‘पुनः बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन सुचारु गर्न तत्काल नयाँ डाइभर्सन बनाउने प्रयास भइरहेको छ,’ डीएसपी नेपालले भने । भाँचिएको पुल पुनर्निर्माणको प्रक्रिया अझै सुरु नभएकाले आगामी वर्षा याममा थप समस्या हुने संकेत देखिएको छ।