विराटनगर- सामूहिक बलात्कारको दुई दिनपछि मृत फेला परेकी सिराहाकी रिंकुकुमारी सदाय र भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु घटनामा न्याय माग्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।
सिराहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले शुक्रबार ‘रिंकु र प्रकृतिलाई न्याय दे, घटनामा संलग्न अपराधीलाई कारबाही गर’लगायतका नारासहित बजार परिक्रमा गरे ।
उनीहरुले दुवै घटनामा संलग्नलाई कारबाहीका लागि दबाब दिन खोजिएको बताए । रिंकुले २७ माघको राति आफूलाई सामूहिक बलात्कार गरिएको पीडा पोख्दा समेत गाउँको अगुवा भेलाले आर्थिक लेनदेनमा मिलाउने प्रयास गरेका थिए ।
मधेस सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री राजकुमार लेखीले शुक्रबार पत्रकार सम्मेलन गर्दै रिंकु सदायको मृत्यु प्रकरणसँग जोडिएका आरोपी छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् । अर्कोतिर दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार र अन्तरजातीय विवाह गर्ने जोडीमाथि राज्यसंयन्त्रकै संलग्नतामा भइरहेको दमन गर्नेहरूमाथि कडा कारबाही गर्न सरोकारवालाले माग गरेका छन् ।