विराटनगर– भारतले बंगलादेशबाट तयारी पोसाक (रेडीमेड गार्मेन्ट) लगायत केही वस्तुहरूको भूमि मार्ग हुँदै हुने आयातमा रोक लगाएको छ। शनिबार जारी गरिएको सूचनामार्फत भारतको वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले उक्त प्रतिबन्धको जानकारी गराएको हो।
नयाँ प्रावधानअनुसार अब बंगलादेशबाट तयारी पोसाकको भारत आयात भूमि बन्दरगाहमार्फत गर्न पाइने छैन। यस्तो वस्तुको आयात अब न्हावाशेवा बन्दरगाह र कोलकाता बन्दरगाहमार्फत मात्र गर्न सकिनेछ। प्रतिबन्ध शनिबारदेखि नै लागू भएको उक्त महानिर्देशनालयले स्पष्ट पारेको छ।
यद्यपि माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको हकमा भने बन्दरगाह प्रतिबन्ध लागू नहुने बताइएको छ।
जारी सूचनामा भारत हुँदै नेपाल र भुटान जान बंगलादेशबाट ट्रान्जिटमार्फत पठाइने सामानहरूमा भने यो प्रतिबन्ध लागू नहुने उल्लेख गरिएको छ। यसको अर्थ भारतमार्फत बंगलादेशबाट नेपाल आउने तयारी पोसाकमा तत्काल कुनै प्रत्यक्ष प्रभाव नपर्ने देखिन्छ।
तर व्यापार विश्लेषकहरूका अनुसार भूमि मार्गमार्फत हुने सहज र सस्तो ढुवानी बन्द हुँदा नेपाल भित्रिने सामग्रीमा ढुवानी समय तथा लागत बढ्ने सम्भावना छ। भारतको निर्णयले नेपालमा बंगलादेशी तयारी कपडामा निर्भर खुद्रा व्यापारी र साना व्यवसायीहरू प्रभावित हुन सक्ने देखिन्छ।
भारतले स्वदेशी उद्योग संरक्षण र व्यापार सन्तुलनको रणनीतिअन्तर्गत यस्तो कदम चालेको अनुमान गरिँदैछ। नेपाल र भुटानमाथि प्रतिबन्ध नलगाउनु भने भारतले छिमेकी मुलुकसँगको सम्बन्धमा सन्तुलन कायम राख्न खोजेको संकेतका रूपमा लिइएको छ।
#भारत# बंगलादेश#बाट# तयारी# पोसाक