विराटनगर– प्यूठानमा एक दम्पतिको भतिजाले हत्या गरेको प्रहरीले जनाएको छ । माण्डवी गाउँपालिका–२ रातमाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमाको शनिबार दिउँसो घरभित्रै घन प्रहारबाट हत्या भएको थियो । 

प्युठान प्रहरीले आइतबार अपराह्न उनीहरूको हत्या आरोपमा भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ गरेको छ । मृतक दम्पतिको घरबाट ६० मिटर टाढा पंकजको निवास छ । उनले हत्या स्वीकारेको प्रहरीले बताएको छ । सधैँ रिसाउने, गाली गर्ने र घरमा पनि नआऊ भनेर बेइज्जत गर्दै आएकाले आवेशमा घनले हिर्काएर हत्या गरेको पंकजले प्रहरीमा बयान दिएका छन् ।

हत्यामा प्रयोग भएको घन घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । ढोका ढकढकाएर बोलाउँदा पनि परियार दम्पतिले नबोलेपछि एक छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए । उनीहरूलाई मृत देखेपछि प्रहरीमा खबर गरिएको थियो । दुवै मृतकको शरीरमा गम्भीर घाउ खतहरु देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको थियो । घरमा दम्पति मात्र बस्थे । चार छोरा भारतमा बस्छन् । दुई विवाहित छोरी दाङ बस्छन् ।